यसमा कुनै दुई मत छैन कि अनेकौं जंगली तथा घरपालुवा जनावरहरु मानव इतिहासमा महामारी बनेका अधिकाम्स भाइरस उदयको स्रोत रहेका छन् । कोरोना महामारी पनि अन्तत: वन्यजन्तुसँगै जोडिन पुगेको छ । तर यो पनि सत्य हो कि, कुनै समयका जंगली जनावर कालान्तरमा पाल्तु बने र प्रगतिपथमा मानवलाई यो स्थानमा पुर्याए । आज पाल्तु संस्कारको सुभारम्भाकर्ता बनेको कुकुरको वैज्ञानिक गनथन गर्न मन लाग्यो ।
पहिले त म सानो घटनाको स्मरण गर्छु ।
त्यो दिन बिहानदेखि नै साथि बिबेक फरक मुडमा थियो । केहि चिन्ता केहि हतारमा देखिन्थ्यो । सँगै छलफलमा बस्दा उसको मोबाइल ३ चोटी रिंग गरेको थियो । अनि उसको छटपटीले मलाई कौतुहल बनायो । म सोध्छु:
“के भयो बिबेक? फरक मुडमा देखिन्छौ त ।”
“हेर न, पप्पी बिरामी भएर तनाब भैराकोछ । सानो बच्चा, घर ल्याएको भख्खर एक हप्ता भयो । केहि खाना पनि खादैन । राम्ररी हिड्न पनि सकेको छैन ।”
“ओहो ! अनि कसरी भयो त पप्पी बिरामी?”
अनि पप्पिको सारा वृतान्त सुनियो । बिबेकको पृथक परिवार विशेषत: कुकुरलाई धेरै माया गर्ने परिवार रहेछ । कुनै समय विवेकले कताबाट कुकुर भेटेर घर ल्याएको रहेछ । पछी त्यो कुकुर १४ वर्षसम्म उसकै परिवारसँग रहेछ । वुढो भएपछी पारालाएसिस भएछ । उपचार गर्ने कोसिस गर्दागर्दै वितेछ । कुकुरको मृत्युले धेरैदिन घरमा सोकको माहोल भएको र विवेक आफू नै केहि दिन कलेज जान नसकेको बताउथ्यो । आज भने यो नयाँ पप्पीलाई भेटेनरिमा जचाउन लानुछ भन्दै विवेक हतारिदै थियो । कुनै जनावरप्रति मानव आत्मियता जान्ने उत्सुकता मेरो मनमा जाग्यो ।

अनि म मेरा अन्य कुकुरप्रेमी साथीहरु पनि सम्झिन्छु । साथी मधुको घरमा पुग्दा दशौं वर्षदेखि सोहि घरमा रहेको कुकुरलाई मैले पनि ‘हाइ ब्रो’ भनेर भनेको थिए । अर्को साथि ‘नविन’, कुनै समय भोको अनि चोटग्रस्त कुकुरलाई उपचार गरेको घटना सम्झिन्थ्यो । पछी सो कुकुरपनि नविनको परिवारसँगै बस्न थालेछ ।
मलाई त खासै याद छैन तर मेरो दाइ पनि कुनै समय हाम्रो घरमा कुकुर पालेको कुरा सुनाउनु हुन्थ्यो । आमासँगै खै कता-कता मन्दिरसम्म जान्थ्यो रे । दाइलाई स्कुलसम्म पुर्याउथ्यो रे । तर त्यो समयताका गाउँमा एकजना दाइलाई कुनै ‘बौलाहा कुकुर’ले टोकेर रेबिजको कारण मृत्यु भयो । आत्तिदै समुदायका मानिसहरुले हाम्रो लगाएत गाउँ भरका सबै कुकुर मारेछन् ।
कुकुर विकासक्रम
घरपालुवा जनावर त धेरै नै छन्, ती सबैमा कुकुर सर्वाधिक नजिकको अनि बढी पालिने जनावर हो । आखिर मानव र कुकुरको साझा इतिहास के हो ? कसरी दुई भिन्न प्रजातीहरू यसरी नजिकिए ?
अहिलेको ब्यासोकै नजिकको आफन्त रहेको कुकुर खासमा ‘खैरो-ब्वासो’को पुस्ता रहेछ । मान्छेले ब्वासोको बच्चालाई टपक्क टिपेर घरपालुवा बनाए अनि कुकुर बन्यो भन्दा अपत्यारिलो लाग्छ तर कुनै समयका ब्वासोलाई कुकुर बनाउनुमा मानिस नै महत्वपुर्ण भएको देखिन्छ । जंगलमा हामीसँगै प्रतिस्पर्धामा रहेका ब्वासोहरु त्यो समयका सिकारी मानवका दुश्मन थिए । तर सिकारमा मानव प्रखर थिए । समूहमा योजना बनाएर ठुला ठुला जनावर सिकार गर्थे । खैरो ब्यासोका एक समूहले मानिसको नजिक रहदा फाइदा हुने बुझे । अनि मान्छेको गुफा आसपास आउँन थाले, खाना खोज्दै । ती बिस्तारै मान्छेसँग तेती डर नमान्ने किसिमका भए । यो घटनाक्रम केवल एकपटक या एक पुस्तामा मात्रै भएको हैन । पुस्तौं-पुस्ता सम्म चलेको प्रक्रिया हो । जुन समयानुकुल वंशानुगत बन्न पुग्यो । मानिसलाई रिझाउने किसिमका वंशानुगत गुणयुक्त कुकुरले सजिलै खाना खान पाए र बाच्दै गए । उन्मात बच्चा जन्माए र मान्छेसंगै पृथ्वीभरि फैलिए । सुँघ्न सक्ने क्षमता साथै चनाखो बानिले गर्दा सीकारी मानवलाई पनि सीकार खोज्न अनि सुरक्षाको लागि साथी भए ।

ब्वासो र कुकुर छुट्टिने क्रम
इतिहास अध्ययनको लागी कुनै प्राचिन जीवको अंग्श (जिवाम्स)को कार्वन डेटिंग आधारमा उमेर पत्ता लगाइन्छ । त्यसैले नयाँ जीवाम्स भेटिदा पुराना थेउरीहरु पनि परिमार्जित हुदै जान्छन् । पुराना अधिकाम्स अध्ययनले ब्वासोको समूह खास कुकुरमा परिणत भएको लगभग ३० हजार वर्ष जति भएको मानिन्छ ।
कतिपय उत्खंननमा कुकुर र मानव अस्थिपंचर सँगसँगै पनि भेटिएका छन् । सायद मृत्युपछी मानव र कुकुरलाई संगै पुरिएको थियो कि? अर्थात मानिस र कुकुर बीच भावनात्मक सम्बन्ध लामै रहेको देखाउछ । तर हालका कुकुर तथा जंगली ब्वासोका पुर्खा ‘खैरो-ब्वासो’का समूहहरू भने अहिले लोप भैसकेका छन् ।
‘रोबर्ट वेन’ कुकुर इतिहास अनुसन्धानका विशेषग्य हुन् । उनको नेतृत्वमा विभिन्न भूभागका १६२ ब्वासोहरू र १४० जातका कुकुरहरुको वंशानुगत अध्ययन गरियो । जीवित कोष भित्रको माइटोकोंड्रियामा पाइने जैविक त्यान्द्रो अर्थात डीएनएलाई तुलना गरे । जसले कुकुरका पुर्खा ब्वासो रहेको त प्रष्ट देखायो नै साथै यो प्रक्रियाको सुभारम्भ १ लाख वर्षपहिले नै सुरु भएको देखियो । गुणले दुई समूह विभाजित हुने क्रम चले पनि ब्वासो र कुकुरका समूहबीच मिक्सिंग चै भएको हुन सक्ने उनले बताए । सो अध्ययनको निष्कर्ष रह्यो कि कुकुर मान्छेसँगै रहेर पाल्तु जनावर नै बनेको १४ देखि ३० हजार वर्ष भएपनि ब्वासोको समूहबाट छुट्टिने क्रम १ लाख वर्षअघि देखि नै सुरु भयो । (रोबर्ट वेन, १९९७, एन्सिन्ट ओरिजिन अफ डग, साइन्स म्यागाजिन)
घरपालुवा बन्ने क्रम
‘रोबर्ट’कै अर्को विश्वव्यापी अनुसन्धान भयो । उनले युरोप, मध्य पूर्वी एसिया र पूर्वी एसियाबाट एक एक ब्यासो प्रजाती, ब्राजिलमा पाइने बासेंजी तथा अस्ट्रेलियाबाट डीन्गो कुकुर र स्याललाई समेत समेट्दै वंसानुगत अध्ययन गरे । नतिजा पाइयो की कुकुरलाई घरपालुवा बनाइएको र ब्वासोबाट बंसानुगत रुपमा नै छुटिएको (अर्थात मिक्सिंग नभएको) ११ देखि १६ हजार वर्ष भएको देखियो । कुकुर र ब्वासो त्यसरी छुट्टिएपछि दुबैको संग्ख्या गुणात्मक घटेको पाइयो जसलाई ‘पपुलेसन बोटलनेकिंग’ भनिन्छ । अझै ब्वासोसँग छुटिएपछी कुकुरको संख्या त १६ गुणा सम्मले घटेको पाइयो । कृषियुगमा मानव प्रवेश भएसंगै कतिपय कुकुरले स्टार्च पचाउने इन्जाइम पनि विस्तार भएको देखियो । तर डीन्गो, हस्की जस्ता कुकुरमा भने त्यो इन्जाइमको मात्रा त्यस्तो महत्वाकांक्षी पाइएन । मतलब हामी सिकारी मानव हुनेसमय देखि नै कुकुर साथि रहेको हुनुपर्छ । पुराना अध्ययनलाई यो अध्ययनले परिमार्जित गरेको देखिन्छ । (रोबर्ट वेन एट अल, २०१४, अर्ली हिस्ट्री अफ डग्स, प्लस जेनेटिक्स)
कहाँबाट आए कुकुर?

तर यो प्रक्रिया पूर्वी एसियाबाटै भएको हुनसक्ने दावी अर्को महत्वपुर्ण अध्ययनले गर्यो । कुनै जीवको उद्गम स्थल त्यो ठाउँलाई मानिन्छ जहाँ वंसानुगत विविधता धेरै रहन्छ । जस्तै मानव उद्गम स्थान अफ्रिकालाई मानिन्छ किनकि अफ्रिकाका मानिसमा वंसानुगत विविधता अन्य भन्दा बढी छ । ‘पिटर’ले सन् २००२मा विश्वभर फैलिएका लगभग ६५४ओटा कुकुरहरुलाई अध्ययन गरे । जसमा अधिकाम्स पूर्वी एसियाका कुकुरमा उच्च वंसानुगत विविधता देखीयो अर्थात कुकुरको उत्पति पूर्वी एसियाबाटै भएको हुनुपर्छ, उनले दावी गरे । (पिटर साभ्लोनियन, २००२, इस्ट एसियन ओरिजिन अफ डग, साइन्स म्यागाजिन)
समयानुक्रमसँगै जसरी पूर्वी एसियाका मानिसको बसाइसराइ युरोप तिर भयो, पूर्वी कुकुरहरु पनि युरोप तिर आए । पूर्वका कुकुरहरुको वंशानुगत विविधता धेरै भएको कारण युरोपेली कुकुरहरुसँगको समागममा तिनका गुणहरु बढी देखियो र भावीपुस्ताहरुमा पूर्वी एसियाका कुकुरहरुको गुणले वर्चस्व गरेको पनि हुन सक्छ ।
कुकुर इतिहास विवाद
अनुसन्धानमा विवाद त्यतिकै हुन्छ । ‘ग्रेगर लार्सन’ले कुकुर इतिहासको गन्थनलाई बिल्कुल फरक बाटोमै मोडीदिए । लार्सनको नेतृत्वमा ५९ ओटा प्राचीन कुकुर र लगभग ४८०० वर्षअघिको आएरल्याण्डमा भेटिएको कुकुर जिवाम्साको वंशानुगत अध्ययन गरियो । उनले भेटेकि उही समयमा फरक वंसानुगत गुणका कुकुरका समूहहरु पृथ्वीका दुई भूभाग: पूर्वी एसिया र पश्चिमी युरोपमा रहेको पाइयो । तर बिचको भागमा देखिएन । “दुई धुर्वतिर फरक कुकुरका प्रजातीहरु हुनुले सायद युरोप र पूर्वी एसिया दुवै तिरका मानिसहरुले छुट्टा-छुट्टै रुपमा कुकुरलाई पाल्तु बनाएको हुनसक्ने देखियो । मतलब, कुकुर बन्ने इतिहासक्रम दुइ फरक बिन्दुबाट सुरु भएको हुन सक्छ,” लार्सन आफ्नो अनुसन्धानमा लेख्छन् । समानान्तर रुपमा जसरी टर्की तथा पूर्वी-एसियाबाट सुँगुरलाई घरपालुवा बनाइयो, त्यस्तै कुकुर पनि दुई भिन्न ठाउँ अर्थात युरेसिया तथा एसियाबाट उत्पति पो भए कि? (ग्रेगर लार्सन एट अल, २०१६, डुअल ओरिजिन अफ डग, साइन्स म्यागाजिन)
(वायाँ तर्फ स्याल त दायाँ तर्फ कुकुर)
अन्तत:
कुकुरको मानवसँग मिश्रित इतिहास वृहत रहेको छ र थप अनुसन्धानपछी यो कथामा थपिने अन्य पाठहरू अझै रोचक हुदै जानेछ । कुकुरबाट पाल्तु राख्ने संस्कार सुरु भएसँगै मान्छेको विकासक्रम अप्रत्यासित रुपमा बढ्न पुग्यो । यो चलनले प्राकृतिक प्रक्रियाबाट आधुनिक मानव अलग भयो । कति वैज्ञानिकहरु त एति सम्म दावी गर्छन कि कुकुरबाट घरपालुवा बनाउने परम्परा सुरु नभएको भए अहिलेपनि यो संसारमा केवल केहि लाखमात्र मानिस रहन्थे । तर हामि अहिले अरबौंको संग्ख्यामा छौँ । यो क्रममा लगभग १८औं शताब्दिमा विभिन्न प्रजातिका कुकुरहरुलाई बनावटकै लागि मिक्सिङ गर्ने चलन पनि सुरु भयो । मान्छेको सबैभन्दा पुरानो साथि कुकुर, हामीसँग हजारौ वर्षदेखि नजिक छ । हामीलाई नजिकबाट बुझ्ने यत्तिको जीव अन्य कुनै छैन । यसको स-साना वंशानुगत एकाइमा समेत मानिसलाई बुझ्ने तथा रिझाउने गुणहरु समेटिएका छन् । त्यसैले कुकुरको हरेक सानो ब्यबहारलाई ख्याल गर्ने गर्नुस् । तपाईलाई के भन्न खोज्दै छ बुझ्न खोज्नुस आखिर यो लामो विकासक्रमको साथि जो रहेको छ ।
Comments are closed.